मनोनयन दर्ता मिति थप्न राजनीतिक दलको आग्रह, निर्वाचन आयोगको निर्णय बाँकी

User Image Prime TV News एक महिना अगाडि
Image of मनोनयन दर्ता मिति थप्न राजनीतिक दलको आग्रह, निर्वाचन आयोगको निर्णय बाँकी

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न प्रमुख राजनीतिक दलहरूले निर्वाचन आयोगसँग अनुरोध गरेका छन्

निर्वाचन आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, रास्वपा लगायतका दलहरूले माघ ६ गतेबाट सुरु हुने मनोनयन दर्ता कम्तीमा एक हप्तासम्म बढाएर माघ १५ देखि माघ मसान्तसम्म सार्न आग्रह गरेका हुन्।

विशेषगरी नेपाली कांग्रेसभित्रको विवादलाई कारण देखाउँदै मिति सार्न माग उठाइएको जनाइएको छ। आयोगले हालसम्म गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको छ भने देउवा पक्षले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले भने, “सबैजसो राजनीतिक दलले मनोनयन दर्ताको समय सीमा बढाउन अनुरोध गरेका छन्। आयोगले यस विषयमा आन्तरिक छलफल गरिरहेको छ र अहिलेसम्म कुनै निर्णय गरेको छैन।”

स्रोतका अनुसार, यदि आयोगले समय सर्ने निर्णय गरेमा, मनोनयन दर्ताको अवधि अधिकतम एक हप्तासम्म बढ्न सक्ने सम्भावना रहेको छ।