बालेन शाहले काठमाडौं मेयर पदबाट राजीनामा दिएर रास्वपामा प्रवेश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज आइतबार मेयर पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।
रास्वपा कार्यकर्ताको ठूलो भिडभाडबीच शाह पार्टी कार्यालय घन्टीघर पुगेका थिए। प्रांगणमा रहेको घन्टी बजाएर उनले आफ्नो पार्टी प्रवेशलाई औपचारिकता दिएका हुन्। उनलाई पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्यालसहित अन्य वरिष्ठ नेताहरूले स्वागत गरेका थिए।
शाहले रास्वपामा पदभार ग्रहण गरे र त्यसलगत्तै कार्यालयबाट बाहिरिएका छन्। पुस १३ गते सातबुँदे सहमति हस्ताक्षर गरेर पार्टी प्रवेश गरेका शाह आज पहिलो पटक कार्यालय पुगेका हुन्। कार्यालयमा उनी १५ मिनेटभन्दा बढी समय बिताएनन्।
आजै साँझ उनी जनकपुर जाने कार्यक्रम रहेको छ। त्यहाँ भोलि रास्वपाले आयोजना गर्ने कार्यक्रममा सभापति लामिछाने र वरिष्ठ नेता शाह सहभागी हुनेछन्। स्वतन्त्र उम्मेदवारी लिएर काठमाडौं मेयर बनेका शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजीनामा दिएका हुन्। उनले आइतबारदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका छन्।













