धरान जिरो प्वाइन्टमा बस दुर्घटना, पाँच जनाको मृत्यु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । धरान–१३ जिरो प्वाइन्ट क्षेत्रमा आइतबार भएको बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस अनियन्त्रित भई सडक छेउको संरचनामा ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परेको बस स्कुल बस भए पनि त्यसमा विद्यार्थी सवार थिएनन्। बसले ‘न्यु शबा मेडिकल’ नामक औषधि पसलमा ठक्कर दिँदा पसलमा भौतिक क्षति पुगेको छ। धरानका प्रहरी प्रमुख डिएसपी भीषणबाबु राईले दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन्।
मृत्यु हुने व्यक्तिहरू बसभित्र थिए वा बाहिर रहेका थिए भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट हुन नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। दुर्घटनापछि प्रहरी र स्थानीयवासीले उद्धार कार्य गरेका थिए। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













