शेखर कोइरालाको आग्रहः पार्टी संकट छलफलमै राखेर निर्वाचन र महाधिवेशनको तयारीमा लागौ

User Image Prime TV News एक महिना अगाडि
Image of शेखर कोइरालाको आग्रहः पार्टी संकट छलफलमै राखेर निर्वाचन र महाधिवेशनको तयारीमा लागौ

काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद र संकटबारे छलफललाई तत्कालका लागि स्थगित गर्दै आगामी निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।

साथै, उनले निर्वाचनसँगै कांग्रेसको १५ औँ महाधिवेशनको तयारी पनि अघि बढाउन आफ्ना निकट नेताहरूलाई आह्वान गरेका छन्। आइतबार काठमाडौको बत्तीसपुतलीमा आयोजित आफ्ना पक्षका नेताहरूको भेलामा कोइरालाले पार्टीका उम्मेदवारलाई विजयी गराउन अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए।

उनले पार्टीले तय गर्ने उम्मेदवार चयन प्रक्रिया स्वीकार गर्दै उम्मेदवारी प्रस्ताव भएमा सहमति जनाउन पनि आग्रह गरे। पार्टीभित्र देखिएको असहज अवस्था र मुलुकमा देखिएको संवैधानिक संकटका कारण आफूले लिने भूमिकाबारे अहिले नै निष्कर्ष निकाल्नु उपयुक्त नहुने उनको भनाइ थियो।

त्यस विषयलाई परामर्शमै छोडेर सबैलाई निर्वाचन अभियानमा लाग्नुपर्ने कोइरालाको धारणा छ। नेता कोइरालाले गगन थापा नेतृत्वको कांग्रेसप्रति असन्तुष्टि जनाउँदै त्यसलाई असंवैधानिक भनिरहे पनि निर्वाचन र संगठन सुदृढीकरणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।

उनले निर्वाचनसँगै १५ औँ महाधिवेशनमा पनि ध्यान दिन आग्रह गर्दै पार्टीको भावी नेतृत्व निर्माणका लागि तयारी गर्नुपर्ने उल्लेख गरे।