निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको बन्दसूची सार्वजनिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ।
आयोगले आइतबार राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूची सार्वजनिक गर्दै आयोगको वेबसाइटमा राखेको हो।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूबाट प्राप्त बन्दसूची प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ अनुसार सार्वजनिक गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार ५७ निर्वाचन चिह्नअन्तर्गत ६३ राजनीतिक दलबाट पेस भएका कुल ३ हजार २१३ जना उम्मेदवारको नाम बन्दसूचीमा समावेश छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी–विरोध गर्न चाहने मतदाताले उजुरी दिन सक्ने जानकारी दिए।
उनका अनुसार माघ ५ गतेदेखि माघ १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उजुरी दर्ता गर्न सकिनेछ।
निर्वाचन आयोगले प्राप्त उजुरीको छानबिन गरी कानुनबमोजिम आवश्यक निर्णय गर्ने जनाएको छ।











