सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा

User Image Prime TV News एक महिना अगाडि
Image of सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा

काठमाडौ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ पुगेको हो।

यसअघि आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। मूल्य वृद्धिसँगै सुनले अघिल्लो सातामै कायम गरेको उच्चतम रेकर्ड पनि तोडेको छ। गत बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा पुगेको थियो।

चाँदीको मूल्य पनि सोमबार बढ्दै नयाँ उचाइमा पुगेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँ रहेको चाँदी १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यद्यपि चाँदीको हालको मूल्य यसअघि कायम गरिएको उच्चतम रेकर्डभन्दा केही कम रहेको छ। गत बुधबार चाँदी प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, लगानीकर्ताको आकर्षण र माग वृद्धिका कारण सुनचाँदीको मूल्यमा तीव्र वृद्धि देखिएको हो। आगामी दिनमा पनि मूल्यमा उतारचढाव रहने अनुमान गरिएको छ।