माओवादीमा चुनावी रणनीति फेरबदल, शीर्ष नेतृत्व प्रतिस्पर्धाबाट बाहिर रहने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेत्र विक्रम चन्द 'विप्लव' नेेतृत्वको नेकपा (माओवादी)ले आगामी चुनावका लागि रणनीति परिवर्तन गरेको छ। सोमबार बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल बैठकले शीर्ष नेताहरूलाई चुनाव नलडाउने निर्णय गरेको छ।
स्थायी कमिटी सदस्य अनिल शर्मा ‘विरही’का अनुसार बैठकले शीर्ष नेतृत्व चुनावी प्रतिस्पर्धामा नउत्रिने निष्कर्ष निकालेको हो। तर, अन्य तहका नेताहरूलाई भने चुनावमा सहभागी हुन कुनै अवरोध नराखिएको उनले बताए।
पार्टी निर्णयले यसअघि महासचिव विप्लवले रोल्पाबाट चुनाव लड्ने गरेको घोषणा पनि स्वतः फिर्ता भएको छ। अब उनी रोल्पाबाट उम्मेदवार नबन्ने भएका छन्। नेताहरूका अनुसार संगठन सुदृढीकरण र नयाँ पुस्तालाई नेतृत्वमा अघि सार्ने उद्देश्यले यस्तो निर्णय लिइएको हो।
माओवादीले स्थानीय र मध्यम तहका नेताहरूलाई केन्द्रमा राखेर चुनावी अभियान अगाडि बढाउने तयारी गरेको जनाएको छ।












