रास्वपाको रणनीतिक चाल: भक्तपुर–२ मा महेश बस्नेतविरुद्ध राजीव खत्री
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध राजीव खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यससँगै उक्त क्षेत्रमा प्रतिस्पर्धा तीव्र र चासोपूर्ण हुने देखिएको छ।
खत्रीले सुरुमा काठमाडौं–१० बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए। तर, पार्टी नेतृत्वको रणनीतिक निर्णयअनुसार उनलाई भक्तपुर–२ बाट उम्मेदवारी दिने गरी टुंगो लगाइएको हो। पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बिचको छलफलपछि यो निर्णय भएको बताईएको छ ।
जेनजी आन्दोलनपछि एमाले नेता बस्नेतले मेयर शाहविरुद्ध निरन्तर आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन्। त्यसैको राजनीतिक जवाफका रूपमा रास्वपाले बस्नेतलाई लक्षित गर्दै खत्रीलाई अघि सारेको बुझिएको छ।
पूर्वसञ्चारकर्मी खत्री सामाजिक सञ्जालमा सक्रिय छन्। उनी र बस्नेतबीच विगतदेखि नै सार्वजनिक बहस र वाकयुद्ध चल्दै आएको छ। एकअर्कामाथि गर्दै आएका तीखा टिप्पणीका कारण दुवैबीचको प्रतिस्पर्धा चुनावी मैदानमै पुगेको हो। भक्तपुर–२ बस्नेतको परम्परागत क्षेत्र भए पनि गत आमनिर्वाचनमा उनी पराजित भएका थिए। खत्री भने राजनीतिमा नयाँ अनुहार हुन् र पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिन लागेका छन्।













