बालेन शाहले जनकपुरबाट गरे प्रधानमन्त्री बन्ने दाबी, मैथली भाषामा मागे मत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले आफू मधेसको छोरा भएको उल्लेख गर्दै प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।
सोमबार जनकपुरधाममा आयोजित चुनावी सभालाई पहिलो पटक सम्बोधन गर्दै शाहले रास्वपालाई मत दिन आग्रह गरे। उनले मैथली भाषामै सम्बोधन गर्दै भने, “मधेसी छौरा पीएम बन्ने वाला है।” रास्वपाले आगामी निर्वाचनका लागि शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। सोही सन्दर्भमा उनले प्रधानमन्त्री बन्ने लक्ष्य पूरा गर्न रास्वपालाई मत दिन आग्रह गरे।
सभामा शाहले काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा चार वर्ष काम गरेको अनुभव सुनाउँदै कामका क्रममा भाषणभन्दा काममै केन्द्रित भएको दाबी गरे। “काम गर्दा भाषण गर्ने फुर्सद नै भएन,” उनले भने।
जनकपुरको सभामा शाहको उपस्थितिलाई मधेस केन्द्रित राजनीतिक सन्देशका रूपमा हेरिएको छ। साथै भाषणको सुरुवातमै शाहले काठमाडौँ अधिकार माग्न धाउने ठाउँ नभई घुम्न जाने ठाउँ हुनुपर्ने धारणा राखे। मधेसका नागरिक अझै पनि अधिकारका लागि राजधानी धाउनुपर्ने अवस्था रहेको भन्दै उनले वर्तमान प्रणालीप्रति आलोचना गरे।
यस क्रममा उनले उखु किसानको आन्दोलनको उदाहरण दिँदै मधेसले अझै पनि आफ्नो अधिकार नपाएको विषय उठाए। प्रदेश सरकारले प्रमुख प्रशासकीय अधिकृतसमेत स्वतन्त्र रूपमा फेर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता संघीयताको मर्मविपरीत भएको बताए।
शाहले अधिकारको प्रत्याभूतिका लागि वर्तमान शासन प्रणालीमै संरचनागत चुनौतीहरू रहेको दाबी गरे। “प्रदेश र स्थानीय तहलाई अधिकार दिइएको भनिए पनि व्यवहारमा अझै केन्द्रमै निर्भर रहनुपर्ने अवस्था छ,” उनले भने।
सभामा उनले काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा चार वर्ष काम गरेको अनुभव सुनाउँदै आफूले भाषणभन्दा कामलाई प्राथमिकता दिएको जिकिर गरे। “काम गर्दा भाषण गर्ने फुर्सद नै भएन,” शाहले भने।












