उमेदवारी दर्ताको मिति संशोधन हुदैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

User Image Prime TV News एक महिना अगाडि
Image of उमेदवारी दर्ताको मिति संशोधन हुदैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि उमेदवारी दर्ताको मिति संशोधन नहुने स्पष्ट पारेका छन्।

आयोगले सोमबार सार्वजनिक गरेको भिडियो सन्देशमा भण्डारीले मंगलबार माघ ६ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारहरूले आफ्नो मनोनयनपत्र दाखिला गर्न सक्ने जानकारी दिएका छन्।

भण्डारीले भने, “अब कुनै पनि विषयवस्तुलाई पर सार्ने, संशोधन गर्ने, थप्ने वा घटाउने समय सकिसकेको छ। तोकिएको समयमा उम्मेदवार, दल वा स्वतन्त्र उम्मेदवारहरूले मात्र मनोनयनपत्र दाखिला गर्नु पर्नेछ।”

उनले थपे कि उम्मेदवारले आफैं उपस्थित भएर वा आफ्नो प्रतिनिधि, समर्थक वा प्रस्तावकमार्फत पनि मनोनयनपत्र बुझाउन सक्ने कानुनी व्यवस्था रहेको छ। यसले उम्मेदवारलाई निर्वाचन क्षेत्र पुगे बिना पनि दर्ता गर्न सहज बनाउने छ । आयोगले मनोनयन दर्ता गर्न असहज हुने उम्मेदवारका लागि सहजीकरणको पनि व्यवस्था गर्ने जनाएको छ।

साथै, आयोगले माघ ५ गते राति १२ बजेबाट आचारसंहिता लागू भएको र यस अवधिमा कुनै पनि राजनीतिक गतिविधि रोकिएको पनि स्मरण गराएको छ।