डडेल्धुराको लामो अध्याय टुंगियो, शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनबाट पछि हटे

User Image Prime TV News एक महिना अगाडि
Image of डडेल्धुराको लामो अध्याय टुंगियो, शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनबाट पछि हटे

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका छन्।

देउवाको सचिवालयले उम्मेदवारी दर्ता अगावै उनको निर्णय सार्वजनिक गर्दै उनले यसपटक निर्वाचन प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेको छ। ‘नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराइन्छ,’ देउवाको तर्फबाट भानु देउवाले जनाएका छन्।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई सक्रिय राजनीतिभन्दा माथि उठेर संरक्षक र अभिभावकीय भूमिकामा बस्न आग्रह गर्दै आएको थियो। सोही सन्दर्भमा देउवाले चुनावी प्रतिस्पर्धाबाट अलग रहने निर्णय लिएको बुझिएको छ।

२०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आएका देउवा सात पटक सांसद निर्वाचित भइसकेका छन्। तीन दशकभन्दा बढी समय संसद र सरकारको केन्द्रमा रहेका देउवाको निर्वाचनबाट बहिर्गमनलाई कांग्रेसभित्र युगको अन्त्यका रूपमा हेरिएको छ।

देउवाले चुनाव नलड्ने निर्णय सार्वजनिक भइरहँदा पार्टीभित्र अर्को सन्देश पनि स्पष्ट भएको छ। उनकी पत्नी आरजु राणा देउवा यसपटक कांग्रेसको टिकटबाट वञ्चित भएकी छन्। कैलाली–५ मा कांग्रेसले आरजुलाई नदिई नारायण शाहलाई उम्मेदवार बनाएको छ ।