गगन थापा समूहको आधिकारिकतामाथि कानुनी चुनौती, आज सर्वोच्चमा सुनुवाइ

User Image Prime TV News एक महिना अगाडि
Image of गगन थापा समूहको आधिकारिकतामाथि कानुनी चुनौती, आज सर्वोच्चमा सुनुवाइ

काठमाडौ । नेपाली कांग्रेसभित्रको नेतृत्व र आधिकारिकता विवाद अब सर्वोच्च अदालतको सुनुवाइमा प्रवेश गरेको छ।

निर्वाचन आयोगले गगन थापा समूहलाई दिएको आधिकारिकताविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा आज पेसी तोकिएको छ।

रिट आइतबार दर्ता भएको थियो र सर्वोच्च अदालत प्रशासनले सोही दिन मंगलबारका लागि पेसी तोकेको हो। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त रिट दायर गरेका हुन्।

रिटकर्तापक्षले आइतबारकै लागि तत्काल पेसी तोक्न आग्रह गरे पनि अदालत प्रशासनले समय अभावका कारण सम्भव नभएको जनाएको थियो। त्यसपछि आजका लागि औपचारिक सुनुवाइको मिति निर्धारण गरिएको हो।

कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेपछि आधिकारिकताको विवाद चुलिएको थियो। निर्वाचन आयोगले सो कार्यसमितिलाई मान्यता दिएसँगै विवाद कानुनी मोडमा पुगेको हो।