संविधान थोरै लिक बाहिर गएको छ, चुनावमार्फत सुधार सम्भवः राष्ट्रिय स्वतन्त्र पार्टी

User Image Prime TV News २ हप्ता अगाडि
Image of संविधान थोरै लिक बाहिर गएको छ, चुनावमार्फत सुधार सम्भवः राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकार गठनको क्रममा संविधान केही हदसम्म लिक बाहिर गएको ठहर गरेको छ। पार्टीले अन्तरिम सरकार गठनका क्रममा बाध्यात्मक परिस्थितिमा संविधानको अक्षरभन्दा भावना खोज्नु परेको बताउँदै, त्यसले संविधानबाट थोरै विचलन भएको निष्कर्ष निकालेको हो।

संविधान दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले आगामी निर्वाचनमार्फत संविधान पुनः सही दिशामा फर्किने अपेक्षा व्यक्त गरे। उनले भने,"निर्वाचन सफल बनाउने राष्ट्रिय अभिभारामा सामूहिक र सार्थक खबरदारी एवं पहलकदमीका लागि सम्बद्ध सबैलाई आह्वान गर्दछौं।"

अर्यालद्वारा जारी विज्ञप्तिमा रास्वपाले संविधानमा निहित लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय र समानताको सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

"संवैधानिक सुधारको मुद्दा निरन्तर उठाउँदै आएको स्मरण गराउँदै, संविधान परिमार्जन नगरी मुलुकमा आमूल सुधार सम्भव छैन भन्ने हाम्रो अडानलाई पछिल्लो जेनजी विद्रोह तथा त्यस क्रममा उठेका आवाज र व्यक्त भावनाले समेत पुष्टि गरेका छन्", विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले वर्तमान राजनीतिक परिस्थितिमा गम्भीर समिक्षा आवश्यक रहेको बताउँदै लोकतन्त्रलाई थप सुदृढ बनाउने दिशामा सचेत पहल गर्न सबै राजनीतिक शक्तिलाई आग्रह गरेको छ।