विमलेन्द्र निधिले धनुषा–३ बाट उम्मेद्वारी दिदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा जिल्लाका निर्वाचन क्षेत्र नम्बर २ र ३ मा उम्मेदवार तय गरेको छ। पार्टीले धनुषा–३ बाट पूर्वमन्त्री विमलेन्द्र निधिलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको हो।
यसअघि निधि समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य रहेका थिए। उनी २०७४ सालको निर्वाचनमा तत्कालीन राजपाका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए। धनुषा–३ मा यसपटक बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
यहाँ नेकपा एमालेबाट जुली महतो, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनिष झा र राष्ट्रिय मुक्ति पार्टीबाट डा. राजिव झा उम्मेदवार बनेका छन्। २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट एमालेकी जुली महतो निर्वाचित भएकी थिइन्।
यस्तै, कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा दिनेशप्रसाद यादव (परसैला)लाई उम्मेदवार बनाएको छ। दोस्रो संविधानसभा सदस्य भइसकेका परसैलालाई कांग्रेसले यसपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको हो।
धनुषा–२ मा २०७९ को निर्वाचनमा कांग्रेसबाट रामकृष्ण यादव निर्वाचित भएका थिए। उम्मेदवार टुंगिएसँगै धनुषाका यी निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढ्ने संकेत देखिएको छ।












