पूर्णबहादुर खड्का चुनावी दौडबाट बाहिरिए, पार्टी एकताका लागि उम्मेदवारलाई साथ दिन अपिल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उनको निर्णयले कांग्रेस राजनीतिमा नयाँ बहस जन्माएको छ।
खड्काले विशेष महाधिवेशन र त्यसबाट बनेको संरचनाविरुद्ध आफूले सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको अवस्थामा सोही संरचनाबाट जारी हुने टिकट लिएर उम्मेदवार बन्नु उपयुक्त नहुने स्पष्ट पारेका छन्। यस्तो कदमले आफ्नो जीवनभरको राजनीतिक मूल्य, नैतिकता र सिद्धान्तसँग सम्झौता हुने उनले उल्लेख गरेका छन्।
आफू चुनावी प्रतिस्पर्धाबाट अलग भए पनि पार्टी र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता कायमै रहेको खड्काको भनाइ छ। उनले पार्टीका साथीहरू र आम मतदाताको भावना बुझ्दै आफ्नो निर्णयले कसैलाई चोट पुगेको भए क्षमा मागेका छन्।
खड्काले अन्ततः पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा सबै कांग्रेसजन एकताबद्ध भएर लाग्न आग्रह गरेका छन्। कांग्रेसको जित नै आफ्नो प्राथमिकता भएको भन्दै उनले व्यक्तिगत निर्णयभन्दा पार्टी हित ठूलो भएको सन्देश दिएका छन्।












