नेप्से परिसूचक ४२ अंकले उकालो, बजारमा सकारात्मक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज आज सकारात्मक सर्किटमा बन्द भएको छ।
नेप्से परिसूचक ४२.२६ अंकले बढेर २,७१४.८१ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ७.८२ अंक, फ्लोट इन्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८७ अंकले वृद्धि देखाएका छन् । बजारमा कारोबार पनि उल्लेख्य वृद्धि भएको छ।
आइतबार ८ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा आज ११ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। कुल ३३९ स्टकको १ लाख १५ हजार १८१ पटक कारोबारमा २ करोड ५१ लाख ८५ हजार कित्ता शेयर किनबेच भएको छ।
गोर्खाज फाइनान्सको शेयर आज सकारात्मक सर्किटले कारोबार भएको छ। सो कम्पनीको शेयर मूल्य ५६.२० रुपैयाँ बढेर ६१८.३० रुपैयाँमा पुगेको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य करिब ८ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, एसबिएल डिबेञ्चर २०८९को मूल्य ४.२३ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ, जसको ४० करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। राधी विद्युत कम्पनी र मञ्जुश्री फाइनान्सको कारोबार क्रमशः ३९ र ३७ करोड रुपैयाँभन्दा बढी भएको छ।
आज बजारका १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। सबैभन्दा बढी होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.३६ प्रतिशतले बढेको छ। लगानी उपसमूह २.५ प्रतिशतले बढेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन/प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूह १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।












