गगन थापाले सर्लाही–४ बाट वारेस मार्फत उम्मेदवारी दर्ता गरे
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर–४ बाट वारेसमार्फत प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको टिकट वितरण तथा संगठनात्मक गतिविधिमा व्यस्त भएपछि थापाले प्रत्यक्ष उपस्थित नभई वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।
थापाको तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंह समर्थकसहित सर्लाही–४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए। उम्मेदवारी दर्ताका क्रममा कांग्रेसका कार्यकर्ता तथा समर्थकको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंहले उम्मेदवारी दर्ता गराएका छन् भने जनता समाजवादी पार्टी बाट रामेश्वर राय र नेकपा बाट डा. रजनीश रायले पनि प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। सर्लाही–४ मा प्रमुख दलका प्रभावशाली उम्मेदवारहरू मैदानमा उत्रिएसँगै चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।












