प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ हजार ६५५ उम्मेदवारी, महिलाको सहभागिता १२ प्रतिशत मात्रै

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ हजार ६५५ उम्मेदवारी, महिलाको सहभागिता १२ प्रतिशत मात्रै

काठमाडौ । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत देशभरबाट साँझ ५ बजेसम्म २ हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। दर्ता भएका उम्मेदवारमध्ये महिलाको संख्या ३०३ मात्रै रहेको छ भने पुरुष उम्मेदवार २ हजार ३५२ जना छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय परिसरभित्र प्रवेश गरिसकेका उम्मेदवारले उम्मेदवारी दर्ता गर्न पाउने व्यवस्था गरिएको छ। सोही कारण केही जिल्लामा रातिसम्म पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहने आयोगले जनाएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ भने बाँकी ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुनेछन्। समानुपातिकतर्फको मनोनयन यसअघि पुस १३ र १४ गते सम्पन्न भइसकेको छ भने आज प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया पूरा भएको हो।

प्रत्यक्षतर्फ उम्मेदवारी दर्तामा महिलाको सहभागिता न्यून देखिनुले राजनीतिमा लैंगिक प्रतिनिधित्व अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ। आगामी चरणमा उम्मेदवारको नामावली प्रकाशन, उजुरी दर्ता तथा अन्तिम सूची प्रकाशनजस्ता निर्वाचन प्रक्रिया अघि बढ्ने निर्वाचन आयोगले जनाएको छ।