कामनपाले नदीको दायाँ–बायाँ भवन निर्माणमा लगाएको प्रतिबन्ध हटायो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ भवन निर्माणमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा हटाएको छ।
महानगरपालिकाले आज जारी गरेको सूचनाअनुसार सर्वोच्च अदालतको आदेशको पालना गर्दै नदीको दायाँ–बायाँ भवन निर्माणका लागि अनुमति दिने निर्णय गरिएको हो। यससँगै लामो समयदेखि रोकिएका नक्सा पास, निर्माण अनुमति र अन्य प्रक्रिया पुनः सञ्चालनमा आएका छन्।
महानगरले अदालतको आदेश स्पष्ट रूपमा कार्यान्वयन गर्न बाध्य भएको जनाएको छ। सूचनामा प्रचलित कानुन, भवन मापदण्ड, वातावरणीय सर्त र सुरक्षा मापदण्ड पूरा गरेमा मात्र निर्माण अनुमति दिइने उल्लेख छ।
नदीको प्राकृतिक बहावमा असर पर्ने, जोखिम बढाउने वा सार्वजनिक हितविपरीत हुने संरचनालाई भने कुनै हालतमा अनुमति नदिइने महानगरले स्पष्ट पारेको छ।
यसअघि नदी अतिक्रमण तीव्र रूपमा बढ्दै गएको भन्दै महानगरपालिकाले नदी आसपासका क्षेत्रमा भवन निर्माणमा कडा प्रतिबन्ध लगाएको थियो। सो निर्णयले धेरै घरधनी, व्यवसायी र जग्गाधनी प्रभावित बनेपछि विषय सर्वोच्च अदालतसम्म पुगेको थियो। अदालतले महानगरको पूर्ण प्रतिबन्धलाई अस्वाभाविक ठहर गर्दै कानुनअनुसार प्रक्रिया अपनाउन आदेश दिएको थियो।
प्रतिबन्ध हटेसँगै अब नदी आसपासका जग्गामा कानुनी प्रक्रिया पूरा गरेर भवन निर्माण गर्न सकिनेछ। तर मापदण्ड उल्लङ्घन गर्ने, नदी अतिक्रमण गर्ने वा वातावरणीय क्षति पुर्याउने काम भए कडा कारबाही हुने चेतावनी महानगरपालिकाले दिएको छ।













