फ्रान्सका विभिन्न शहरमा लाखौंको प्रदर्शन, केही स्थानमा ढुंगामुढा आगजनी


काठमाडौ । फ्रान्समा बजेट कटौतीलाई लिएर विरोध प्रदर्शन चर्किएको छ । ट्रेड यूनियनहरूले आह्वान गरेको हड्तालमा लाखौं मानिस सहभागी भएका हुन् ।
प्रदर्शनका कारण पेरिस, ल्योन, नान्तेस, मार्से, बोर्डो, टुलुज र काएनजस्ता शहरमा सडक जाम भएका छन् । सरकारी तथ्यांकअनुसार यी प्रदर्शनमा ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् भने यूनियनहरूले यो संख्या १० लाख रहेको दाबी गरेका छन्।
सुरक्षा व्यवस्थाका लागि देशभर ८० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । प्रदर्शनमा सहभागी १४१ भन्दा बढी पक्राउ परेका छन्।
केही स्थानमा ढुंगामुढा र अश्रुग्याँस प्रयोग भएको छ तर अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेका छन्। कतिपय स्थानमा विद्यार्थीहरूले समेत राजमार्ग अवरुद्ध गरेका छन्। फ्रान्स सरकारले सन् २०२६ को बजेटमा करिब ५२ अर्ब डलर कटौती गर्ने योजना बनाएको छ।
यसमा पेन्सन स्थगित गर्ने, स्वास्थ्य र शिक्षामा खर्च घटाउने, बेरोजगारी भत्ता कम गर्ने र दुई राष्ट्रिय बिदा हटाउने प्रस्ताव समावेश छ।