उम्मेदवारविरुद्ध उजुरी दिने प्रक्रिया आजदेखि सुरु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत उम्मेदवारविरुद्ध उजुरी दिने प्रक्रिया आजदेखि सुरु भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता भएका उम्मेदवारको योग्यतामाथि प्रश्न उठाउन आज उजुरी दिन सकिने व्यवस्था गरिएको हो।
आयोगका अनुसार दर्ता भएका मनोनयन पत्र र प्राप्त उजुरीमाथि माघ ८ गते बेलुका ५ बजेसम्म जाँचबुझ गरी आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने अवसर दिएको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह वितरण गरिने कार्यक्रम तय गरिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको मनोनयन दर्ता प्रक्रिया देशभरका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल २ हजार ९ सय २५ जनाको उम्मेदवारी परेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न हुनुलाई लोकतन्त्रको सकारात्मक संकेत भन्दै राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैलाई धन्यवाद दिएका छन्। उनले आगामी निर्वाचनका बाँकी चरणमा पनि सबै पक्षको सहयोग अपेक्षित रहेको उल्लेख गरेका छन्।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार उम्मेदवारमध्ये ३ सय ३६ महिला र २ हजार ५ सय ८९ पुरुष छन्। यस्तै ८५ जना अपाङ्गता भएका व्यक्ति र १ सय ३८ जना पिछडिएको क्षेत्रबाट उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।












