फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसार अवधि

User Image Prime TV News एक महिना अगाडि
Image of फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसार अवधि

काठमाडौ । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनको औपचारिक प्रचारप्रसार अवधि तोकेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयनपत्र दर्ता गरेपछि उम्मेदवार चुप लागेर बस्नुपर्ने भन्ने भ्रम गलत भएको बताए।

उनले निर्वाचन चिन्ह प्राप्त गरेपछि उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग भेटघाट गर्न, सुझाव लिन र आफ्ना धारणा राख्न सक्ने जानकारी दिए।

तर, उनले दलगत रूपमा ठूला आमसभा, गोष्ठी, सेमिनार तथा भीड जम्मा गर्ने कार्यक्रम गर्न नपाइने स्पष्ट पारे। आचारसंहिता लागू भइसकेकाले त्यसको उल्लङ्घन कुनै हालतमा स्वीकार्य नहुने उनको चेतावनी थियो।

आचारसंहिता उल्लङ्घन भएको उजुरी परे छानबिन गरी निर्णय गर्ने अधिकार निर्वाचन आयोगसँग रहेको उनले दोहोर्‍याए। भण्डारीले निर्वाचन कार्यक्रम व्यवस्थित बनाउन मनोनयन दर्तादेखि प्रचारप्रसारसम्म सबै चरण कानुनअनुसार सञ्चालन गर्न आह्वान गरे। नियम तोकिएपछि मनपरी गर्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुने उनको भनाइले संकेत गर्छ।

यस्तै, प्रदेशसभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि प्रतिनिधिसभाको उम्मेदवार बनेकाले ती पद रिक्त हुने उल्लेख गर्दै त्यस्ता रिक्त स्थानमा फागुन २१ पछि निर्वाचन गरिने जानकारी आयोगले दिएको छ।

निर्वाचन आयोगले तोकेको समयसीमा र आचारसंहिता पालना नगरे कारबाही निश्चित हुने संकेत गर्दै जिम्मेवार व्यवहार देखाउन सबै उम्मेदवार र राजनीतिक दललाई कडा सन्देश दिएको छ।