ट्रम्प विश्व आर्थिक मञ्च २०२६ मा सहभागी हुदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज विश्व आर्थिक मञ्च २०२६ मा सहभागी हुन स्विट्जरल्यान्डको डाभोस पुग्दै छन्।
उनको यो भ्रमणलाई सामान्य कूटनीतिक उपस्थिति होइन, विश्व व्यवस्था नै हल्लाउने सम्भावित घटनाका रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले बुधबार साँझ डाभोसबाट विश्वलाई सम्बोधन गर्ने क्रममा ग्रिनल्यान्डको भविष्यलाई मुख्य एजेन्डा बनाउने तयारी गरेका छन्।
डब्ल्यूईएफमा सम्बोधनपछि उनले एक विशेष उच्च-स्तरीय कार्यक्रमसमेत आयोजना गर्नेछन्।डोनाल्ड ट्रम्प करिब छ वर्षपछि डाभोस फर्किन लागेका हुन्। उनी यसअघि आफ्नो पहिलो कार्यकालमा सन् २०२० जनवरी २१ मा डाभोस पुगेका थिए ।
अमेरिकाको विदेश नीति र व्यापार नीतिमा आक्रामक मोड आएको छ, जसले विश्व शक्ति सन्तुलन नै बिगार्ने खतरा पैदा गरेको छ। ट्रम्पका सल्लाहकारहरूले डाभोसबाटै अमेरिका पुरानो विश्वव्यवस्था र नियमको परवाह नगर्ने सन्देश दिने तयारी भएको बताएका छन्।
ट्रम्प पछिल्लो समय ग्रिनल्यान्ड कब्जा गर्ने विषयमा खुला धम्की दिँदै आएका छन्। उनले अमेरिकाको राष्ट्रिय सुरक्षाको नाममा ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्नैपर्ने जिकिर गरिरहेका छन्।
आर्कटिक क्षेत्रमा बढ्दो सैन्य गतिविधि, खनिज स्रोत र भूराजनीतिक महत्त्वलाई देखाएर उनले यो दाबी दोहोर्याइरहेका छन्। तर यो तर्क धेरैका लागि अस्वीकार्य र खतरनाक देखिएको छ।
मंगलबार मात्र ट्रम्पले सामाजिक सञ्जालमा ग्रिनल्यान्ड, क्यानडा र भेनेजुएलालाई अमेरिकाको भागका रूपमा देखाइएको सम्पादित नक्सा सार्वजनिक गरेका थिए। यो कदमलाई कूटनीतिक मर्यादाको खुला उल्लङ्घन मानिएको छ।
ग्रिनल्यान्ड कब्जा गर्ने योजनाको विरोध गरेका डेनमार्क, बेलायत, फ्रान्स र जर्मनीसहित आठ युरोपेली मुलुकमाथि ट्रम्प प्रशासनले १० प्रतिशत भन्सार कर लगाइसकेको छ। अमेरिकी प्रशासनले विरोध जारी रहेमा यो कर २५ प्रतिशतसम्म बढाउन सकिने चेतावनी पनि दिएको छ।













