सल्यानमा प्रतिनिधि सभा निर्वाचन : १६ उम्मेदवार मैदानमा, नेकपाको आधार क्षेत्र

User Image Prime TV News एक महिना अगाडि
Image of सल्यानमा प्रतिनिधि सभा निर्वाचन :     १६ उम्मेदवार मैदानमा,  नेकपाको आधार क्षेत्र

काठमाडौ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार परम्परागत ठूला दल, उदाउँदा नयाँ दल र स्वतन्त्र उम्मेदवार गरी १६ जनाले मनोनयन दर्ता गराएका हुन्।

मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका जिल्ला सभापति केशबहादुर विष्ट, नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रमेशकुमार मल्ल देखिएका छन्। विगतका निर्वाचनमा यस जिल्लामा नेकपाका उम्मेद्वार हुँदै आएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश महामन्त्री ललितकुमार चन्द, नेकपा (माओवादी) का चन्द्रबहादुर खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिशा नेपाली पनि चुनावी दौडमा छन्।यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, नेशनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोषकुमार राई, आम जनता पार्टीका मानसिंह कामी र स्वतन्त्र नागरिक पार्टीका कालिदास विक उम्मेदवार बनेका छन्।

राष्ट्रिय जनमोर्चाकी कमला डाँगी, मंगोल नेशनल अर्गनाइजेशनका बाँलसिंह घर्ती र श्रम संस्कृति पार्टीका धनबहादुर बुढा मगरले पनि उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रतर्फ ध्रुवराज वली र जुद्धबहादुर सिंह चुनावी मैदानमा उत्रिएका छन्।

उम्मेदवारहरूले स्थानीय पूर्वाधार विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा सुधारलाई प्रमुख मुद्दा बनाउँदै चुनावी अभियान अघि बढाइरहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार विष्टले संविधानको रक्षा र जनताको अधिकार संरक्षण आफ्नो प्राथमिकता रहेको बताएका छन्। एमाले उम्मेदवार शाहले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई स्थानीय स्तरमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेकपाका उम्मेदवार मल्लले युवाको सहभागिता र नयाँ सोचसहित संसदमा प्रभावकारी भूमिका खेल्ने दाबी गरेका छन्। आफ्नो उम्मेद्वारी समयको माग संगै युवाको चहाना भएको उल्लेख गर्दै  नेता मल्लले युवाको आशा र भरोसालाई सम्बोधन गर्दै पुरा नभएका कामहरुलाई आफूले जिम्मेवारी पूर्वक पूरा गर्ने बताएका छन् । 

विद्यार्थी राजनीतिबाट उठेका रमेश मल्ल तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष रहिसकेका छन्। उनी प्रचण्डको सचिवालयमा समेत काम गरिसकेका छन्। यो रमेश मल्लको पहिलो चुनावी प्रतिस्पर्धा हुनेछ। पार्टीले उनी युवा पुस्ताको नेतृत्व क्षमता र संगठन अनुभवका कारण चुनावी मैदानमा अघि बढाएको बताएको छ।

राप्रपाकी उम्मेदवार अनिशा नेपालीले विकास र सुशासनमा महिला नेतृत्वको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताएकी छन्। माओवादी उम्मेदवार खड्काले सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राखेको बताएका छन्। स्वतन्त्र उम्मेदवार वलीले दलभन्दा माथि उठेर जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा २०७९ सालको निर्वाचनमा गठबन्धनको बलियो प्रभाव देखिएको थियो। सो निर्वाचनमा साविक एकीकृत समाजवादी तथा हाल नेकपाका नेता प्रकाश ज्वालाले भारी मतान्तरसहित विजय हासिल गरेका थिए।