सानेपा जाने तयारीमा गगन , शीर्ष नेताहरूसँग छलफल गर्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत सभापतिमा निर्वाचित गगन थापा पार्टीको केन्द्रीय कार्यालय सानेपामा जाने तयारीमा जुटेका छन्। कानुनी र प्रक्रियागत अन्योल अन्त्य भएपछि थापाले आज शीर्ष नेताहरूसँग यस विषयमा छलफल गर्न लागेका हुन्।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए। तर विशेष महाधिवेशनलाई अमान्य ठहर गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा समूह र तत्कालीन डा. शेखर कोइराला नेतृत्वको समूहले निर्वाचन आयोग र सर्वोच्च अदालतमा उजुरी दायर गरेपछि थापा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएका थिएनन्।
निर्वाचन आयोगले थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति मान्यता दिइसकेको छ भने सर्वोच्च अदालतले देउवा समूहको रिटमा अन्तरिम आदेश नदिएपछि कानुनी अवरोध हटेको छ। यससँगै थापाको सानेपा प्रवेशको बाटो खुलेको हो।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी केन्द्रीय कार्यालय जाने विषयमा आज आन्तरिक छलफल हुने जानकारी दिएका छन्। उनका अनुसार जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा क्षति पुगेकाले मर्मत कार्य जारी रहेकाले तत्काल निर्णय लिइएको थिएन।
‘पार्टी कार्यालय मर्मतको क्रममा रहेकाले केही समय पर्खियौँ,’ चालिसेले बताए, ‘अब कार्यालय जानुपर्छ भन्नेमा छलफल केन्द्रित छ। आज सभापतिज्यूलगायत नेताहरूसँग निर्णय गर्ने तयारी छ।’












