तनहुँ–१ मा वाग्ले, भट्टराई र न्यौपानेबीच रोचक भिडन्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । तनहुँ–१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन यसपटक पनि उच्च चासोको विषय बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेकी नेतृ भगवती न्यौपानेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि तीनै उम्मेदवारले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछि उनीहरूले स्थानीय आवश्यकता सम्बोधन गर्ने, विकास निर्माणलाई तीव्रता दिने र सुशासन कायम गर्ने एजेन्डा अघि सारेका छन्।
तनहुँ–१ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका थिए। पौडेल राष्ट्रपति निर्वाचित भएपछि क्षेत्र रिक्त भयो र २०८० वैशाखमा सम्पन्न उपनिर्वाचनमा डा. वाग्ले भारी मतान्तरसहित निर्वाचित भए।
२०७९ को निर्वाचनमा पौडेलले २५ हजार ३१८ मत प्राप्त गर्दा एमालेका एकबहादुर राना मगरले १९ हजार ९४३ मत पाएका थिए। तर उपनिर्वाचनमा रास्वपाका वाग्लेले ३४ हजार ९११ मत ल्याउँदा कांग्रेसका भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा एमाले उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मतमै सीमित भएका थिए।
मतपरिणामले कांग्रेस र रास्वपाबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको र एमालेको मत हिस्सा घट्दो क्रममा रहेको देखिए पनि यसपटक एमालेले अनुभवी नेतृ न्यौपानेलाई अघि सारेर नयाँ दाउ खेलेको छ। वाग्लेले अपूरो कार्यकाल पूरा गर्न र पहिलेभन्दा फराकिलो जनमतसहित संसद् पुग्ने लक्ष्य राखेको बताएका छन्। कांग्रेस उम्मेदवार भट्टराईले मतदातालाई विगतका कामको समीक्षा गरी ‘करेक्शन’ गर्ने अवसर दिन आग्रह गरेका छन्।
एमाले उम्मेदवार न्यौपानेले आफू तनहुँकै माटोबाट उठेको नेता भएकाले जनताको विश्वास पुनः प्राप्त हुने दाबी गरिन्। राजकीय जिम्मेवारीमा रहँदा जिल्लाको हितमा काम गरेको भन्दै उनले मतदाताको समर्थन मागेकी छन्।
विगत दुई निर्वाचनको मतान्तर, नयाँ राजनीतिक धार र प्रभावशाली उम्मेदवारहरूको उपस्थितिका कारण तनहुँ–१ को चुनाव परिणाम यसपटक पनि अनिश्चित देखिएको छ। तीन प्रमुख राजनीतिक धारबीचको प्रतिस्पर्धाले यो क्षेत्र फेरि राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बन्ने संकेत देखिएको छ।












