नेकपा उम्मेदवार विरुद्ध चार स्थानमा बागी उम्मेदवारी दर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपाका आधिकारिक उम्मेदवारविरुद्ध देशभर चार स्थानमा बागी उम्मेदवारी दर्ता भएका छन्। नेकपाले यसअघि १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरिसकेको थियो।
सिन्धुली–२ मा पार्टीले उठाएको लेखनाथ दाहालविरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन्। साबिक माओवादी केन्द्रका उपमहासचिव गजुरेलले दाहाललाई समर्थन गरेपछि निर्वाचन क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ। पार्टीले उम्मेदवार फिर्ता गराउने विषयमा छलफल गरिरहेको छ र आवश्यक परे कारबाहीको सम्भावना पनि छ।
दाङ–१ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले बागी उम्मेदवारी दर्ता गरेका छन्। यस क्षेत्रमा साबिक एकीकृत समाजवादी उपमहासचिव चौधरीलाई टिकट दिने कि केसीलाई दिने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो।
कर्णाली प्रदेशको कालीकोट–१ मा जीवन बुढाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका छन्। यसै क्षेत्रमा पूर्वमुख्यमन्त्री महिन्द्र बहादुर शाही र माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि उम्मेदवार रहेका छन्।
उदयपुर–२ मा नेकपाबाट उम्मेदवार सुरेश कुमार राईविरुद्ध मेजर राईले बागी उम्मेदवारी दिएका छन्। यसबाहेक मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा यसपटक कुनै बागी उम्मेदवारी दर्ता भएको छैन।












