पतञ्जलि जग्गा हिनामिनामा माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा

User Image Prime TV News एक महिना अगाडि
Image of पतञ्जलि जग्गा हिनामिनामा माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा

काठमाडौ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतले झिक्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियारले तामेलीमा राखेको फाइल आगामी माघ १४ गते सुनुवाइका लागि पेश गर्न निर्देशन दिएको हो। अख्तियारले यस मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागेको छ।

अभियोग अनुसार तत्कालीन प्रधानमन्त्री नेपालले सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गरेको आरोप छ। नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको र माघ १८ गते ठाडो आदेशमार्फत बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको आरोपपत्रमा उल्लेख छ।

मुद्धामा कुल ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको दाबी गरिएको छ।