भारतमा नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन, आईसीसीलाई पत्र

User Image Prime TV News एक महिना अगाडि
Image of भारतमा नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन, आईसीसीलाई पत्र

काठमाडौ । आगामी फेब्रुअरीदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटलाई लिएर बंगलादेश र भारतबीच देखिएको विवादमा पाकिस्तानले बंगलादेशको पक्षमा समर्थन जनाएको छ।

भारतमा खेल्न नचाहने बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को अडानलाई समर्थन गर्दै पाकिस्तानले आईसीसीलाई औपचारिक पत्र पठाएको जनाएको छ। ईएसपीएन क्रिकइन्फोका अनुसार आईसीसीले यस विषयमा कुनै निर्णय लिनुअघि नै पाकिस्तानले हस्तक्षेप गर्दै बंगलादेशका सुरक्षा चासोलाई गम्भीर रूपमा लिन आग्रह गरेको हो।

बंगलादेशले भारतमा खेल्दा आफ्ना खेलाडीहरूको सुरक्षालाई लिएर चिन्ता व्यक्त गर्दै खेलहरू श्रीलंकामा सार्न माग गर्दै आएको छ। तर आईसीसीले भने विश्वकपको तालिका पहिले नै सार्वजनिक भइसकेको र त्यसमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारेको छ।

हालको तालिकाअनुसार बंगलादेशले समूह चरणका पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा खेल्ने कार्यक्रम छ। भारत र बंगलादेशबीचको तनाव भारतीय प्रिमियर लिग (आईपीएल) २०२६ का लागि कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि बढेको हो।

बीसीसीआईको निर्देशनमा यो निर्णय लिइएको बताइए पनि त्यसको औपचारिक कारण सार्वजनिक गरिएको छैन। मुस्ताफिजुरलाई आईपीएल टोलीबाट हटाइएपछि बंगलादेश सरकारले देशभित्र आईपीएलको प्रसारणमा प्रतिबन्ध लगाएको थियो। साथै, बीसीबीले आईसीसीलाई पत्र लेख्दै भारतमा आयोजना हुने विश्वकपका खेलहरू नखेल्ने चेतावनी दिएको छ।

भारत–बंगलादेशबीच बढ्दो कूटनीतिक र खेलकुद सम्बन्धी तनावका बीच पाकिस्तानको समर्थनले यो विवाद अन्तर्राष्ट्रिय क्रिकेट राजनीतिमा थप जटिल बन्दै गएको संकेत गरेको छ।