फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै देशभर हतियार संकलन सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै देशभर हतियार संकलन सुरु

काठमाडौ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सरकारले देशभर इजाजत प्राप्त हतियार संकलन प्रक्रिया सुरु गरेको छ। गृह मन्त्रालयको निर्देशनपछि सबै जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी लाइसेन्स भएका हतियारहरू अस्थायी रूपमा बुझाउन आह्वान गरेका छन्।

प्रशासनका अनुसार निर्वाचनको समयमा साना घटनाले पनि ठूलो सुरक्षा चुनौती निम्त्यान सक्ने भएकाले जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय लिइएको हो। शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न हतियार संकलनलाई प्राथमिकतामा राखिएको गृह मन्त्रालयको भनाइ छ।

यसअघि भएका संघीय, प्रदेश तथा स्थानीय तहका निर्वाचनमा पनि यस्तै व्यवस्था लागू हुँदै आएको थियो। निर्वाचन सम्पन्न भएपछि कानुनी प्रक्रिया पूरा गरी हतियार सम्बन्धित धनीलाई फिर्ता गरिने प्रशासनले जनाएको छ।

यसैबीच, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार फिर्ता ल्याउन प्रहरीले छुट्टै अभियान चलाइरहेको छ। ती हतियार अझै पूर्ण रूपमा फिर्ता नआएकाले सुरक्षामा चनाखो हुनुपर्ने आवश्यकता देखिएको प्रशासनको निष्कर्ष छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले माघभित्र अधिकांश लुटिएका हतियार फिर्ता ल्याउने प्रयास भइरहेको जानकारी दिँदै निर्वाचन सुरक्षाका लागि आवश्यक सबै तयारी अघि बढाइएको बताएका छन्। प्रशासनले तोकिएको समयभित्र हतियार नबुझाएमा कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।