रास्वपाबाट प्रतिनिधिसभा निर्वाचनमा १६ महिला उम्मेदवार मैदानमा

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाबाट प्रतिनिधिसभा निर्वाचनमा १६ महिला उम्मेदवार मैदानमा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १६ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ। पार्टीले विभिन्न जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो।

रास्वपाबाट झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा रानामगर, मोरङ–५ मा आशा झा, मोरङ–६ मा रुबिना आचार्य र सुनसरी–१ मा सरिन तामाङ उम्मेदवार रहेका छन्। त्यस्तै धादिङ–१ मा आशिका तामाङ, काठमाडौं–२ मा रञ्जु दर्शना, कास्की–३ मा बिना गुरुङ, हुम्लामा टासी ल्हाजोम र जुम्लामा बिनिता कठायतलाई उम्मेदवार बनाइएको छ।

यसैगरी ललितपुर–३ मा तोसिमा कार्की, चितवन–३ मा सोविता गौतम, सप्तरी–१ मा पुष्पा चौधरी, महोत्तरी–४ मा गौरीकुमारी यादव, सर्लाही–१ मा नितिमा कार्की र कैलाली–१ मा कोमल ज्ञवालीले रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्।

रास्वपा नेता गणेश पराजुलीले महिलाको राजनीतिक सहभागिता नारामा मात्र सीमित नराखी व्यवहारमै लागू गरिएको बताए। उनका अनुसार रास्वपाले पहिलोपटक स्थानीय तह निर्वाचनमा रोजिना श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाउँदै महिला नेतृत्वको सुरुआत गरेको थियो।

“महिलाले राष्ट्र हाँक्ने जिम्मेवारी नारामात्र होइन भन्ने कुरा रास्वपाले व्यवहारमा उतारेको छ,” पराजुलीले भने, “स्थानीय तहदेखि संघीय संसदसम्म महिलालाई प्रतिस्पर्धी रूपमा अघि सारिएको छ।”