म्यामोग्राफी मेसिन खरिद प्रकरण: डा. संगिता मिश्रलाई ५ लाख धरौटीमा छाड्ने आदेश

User Image Prime TV News एक महिना अगाडि
Image of म्यामोग्राफी मेसिन खरिद प्रकरण: डा. संगिता मिश्रलाई ५ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौ । म्यामोग्राफी मेसिन खरिदमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रलाई विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार धरौटी माग गर्ने निर्णय गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। डा. मिश्रसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कात्तिक २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार म्यामोग्राफी मेसिन खरिदका क्रममा झुट्टा बिल–बिजक, गलत प्रतिवेदन र मिलेमतो प्रयोग गरी राज्यलाई करिब १४ करोड ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी क्षति पुर्‍याइएको छ।

उक्त प्रकरणमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. कौशल मिश्र, विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, निर्देशक डा. विवेकुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानुन अधिकृत सिता घिमिरे तथा जनस्वास्थ्य अधिकृत दीपक अधिकारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ।

यसैगरी तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, पद्मा मिश्र, जनस्वास्थ्य निरीक्षक संजयकुमार साह तथा म्याक्सिम इन्कर्पोरेशन ट्रेड्स प्रालि र उक्त कम्पनीका सञ्चालक सुन्दर भुसाल पनि अभियुक्तको सूचीमा छन्।

डा. मिश्र पछिल्लो समय स्वास्थ्य सचिव तथा मन्त्रीको सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेकी थिइन्। तर अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाएपछि उनीसँग सम्बन्धित राजनीतिक नियुक्तिको प्रक्रिया रोकिएको बताइएको छ।