दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डुक सूलाई राजद्रोह अभियोगमा २३ वर्षको जेल सजाय

User Image Prime TV News एक महिना अगाडि
Image of दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डुक सूलाई राजद्रोह अभियोगमा २३ वर्षको जेल सजाय

काठमाडौ । दक्षिण कोरियाको सियोल केन्द्रीय जिल्ला अदालतले पूर्वप्रधानमन्त्री हान डुक सूलाई राजद्रोह अभियोगमा दोषी ठहर गर्दै २३ वर्षको जेल सजाय सुनाएको छ। सन् २०२४ डिसेम्बरमा तत्कालीन राष्ट्रपति यून सुक योलद्वारा घोषित ‘मार्सल ल’ मा उनको भूमिकाका कारण अदालतले उक्त फैसला गरेको हो।

अदालतका अनुसार ७६ वर्षीय हानले मार्सल ल घोषणाका क्रममा संविधानविरोधी कार्यलाई सहज बनाएको प्रमाणित भएको छ। न्यायाधीशले हानले वैध मन्त्रिपरिषद् बैठक आयोजना नगरी केवल औपचारिक प्रक्रिया पूरा गरेर सैनिक शासन लागू गर्न सहयोग गरेको ठहर गरेका छन्। यसले उनको संवैधानिक कर्तव्यको गम्भीर उल्लंघन गरेको अदालतको निष्कर्ष छ।

फैसलामा अदालतले डिसेम्बर २०२४ को मार्सल ल संकटलाई कानुनी रूपमा राजद्रोहको संज्ञा दिएको छ। हानलाई विद्रोहका मुख्य योजनाकारहरूलाई सहयोग गरेको र अनुसन्धानका क्रममा झुटा बयान दिएको अभियोगमा पनि दोषी ठहर गरिएको हो।

फैसलालगत्तै हान डुक सुलाई अदालत परिसरबाटै हिरासतमा लिइएको छ। दक्षिण कोरियाको संवैधानिक इतिहासमा पूर्वप्रधानमन्त्रीलाई अदालतको फैसलापछि तत्काल जेल पठाइएको यो पहिलो घटना भएको बताइएको छ।

यसैबीच, पूर्वराष्ट्रपति यून सुक योललाई गत हप्ता न्यायमा अवरोध पुर्‍याएको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो। तर उनीमाथि राजद्रोह तथा अन्य गम्भीर आरोपहरूमा छुट्टाछुट्टै मुद्दाहरू अझै विचाराधीन अवस्थामा छन् ।