राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षा तालिका सार्वजनिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्षको एसईई परीक्षा चैत १९ गते बिहीबारदेखि सुरु हुनेछ।
सार्वजनिक तालिकाअनुसार परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा सञ्चालन गरिनेछ।
एसईई परीक्षा चैत २९ गते आइतबारसम्म चल्नेछ। बोर्डले तोकिएको तालिकाअनुसार परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ।
राष्ट्रिय परीक्षा बोर्डले समयतालिका सार्वजनिक भइसकेकाले अब विद्यार्थी, विद्यालय र अभिभावक सबैले जिम्मेवारीपूर्वक तयारी गर्नुपर्ने जनाएको छ।
एसईई जस्तो राष्ट्रिय परीक्षामा लापरवाही, अनुशासनहीनता वा अव्यवस्थाले विद्यार्थीको भविष्यमा गम्भीर असर पार्ने भन्दै बोर्डले परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।












