बंगलादेशले भारतमा टी–२० विश्वकप खेल्न अस्वीकार गरे अर्को देशलाई सहभागी गराउने आईसीसीको निर्णय

User Image Prime TV News एक महिना अगाडि
Image of बंगलादेशले भारतमा टी–२० विश्वकप खेल्न अस्वीकार गरे अर्को देशलाई सहभागी गराउने आईसीसीको निर्णय

काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेशले भारतमा टी–२० विश्वकप खेल्न अस्वीकार गरे उसको स्थानमा अर्को देशलाई सहभागी गराउने कडा निर्णय गरेको छ।

बुधबार बसेको आईसीसी बैठकले बंगलादेशको अडान अस्वीकार्य ठहर गर्दै यस्तो निर्णय लिएको हो। आईसीसी बैठकमा यस विषयमा मतदानसमेत भएको थियो।

बहुमत सदस्यले बंगलादेशले तोकिएको स्थानमा खेल्न नमाने अर्को टोलीलाई मौका दिनुपर्ने मत दिएपछि परिषद् निर्णयमा पुगेको हो। आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लाई भारतमा खेल्ने अडानमा फर्किन थप एक दिनको समय दिएको छ।

तोकिएको समयभित्र अडान नफेरे बंगलादेशलाई विश्वकपबाट बाहिर राखिने स्पष्ट संकेत दिइएको छ। ईएसपीएन क्रिकइन्फोका अनुसार बंगलादेशको स्थानमा स्कटल्याण्डलाई सहभागी गराउने सम्भावना बलियो देखिएको छ।

स्कटल्याण्ड युरोपेली छनोटमा असफल भइसकेको टोली भए पनि बंगलादेश बाहिरिए उसले अप्रत्याशित अवसर पाउनेछ । भारत–बंगलादेश विवादको सुरुआत आईपीएल २०२६ का क्रममा कोलकाता नाइट राइडर्सले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि भएको हो।

यो निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को निर्देशनमा भएको बताइए पनि आधिकारिक कारण सार्वजनिक गरिएको छैन। त्यसपछि दुई देशबीचको सम्बन्ध झनै बिग्रिएको छ।

मुस्ताफिजुर हटाइएपछि बंगलादेश सरकारले देशभित्र आईपीएल प्रसारणमा प्रतिबन्ध लगायो। साथै बीसीबीले आईसीसीलाई पत्र लेख्दै भारतमा विश्वकपका खेल नखेल्ने अडान लिएको थियो। खेलकुदभन्दा राजनीति हावी भएपछि आईसीसी हस्तक्षेप गर्न बाध्य बनेको देखिन्छ।

टी–२० विश्वकप भारत र श्रीलंकामा फेब्रुअरी ७ बाट सुरु हुँदैछ। बंगलादेशका समूह चरणका तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा तय गरिएको छ। तर आफ्नो अडान नफेरे बंगलादेश विश्वकपबाटै बाहिरिने अवस्थामा पुगेको छ।