प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक हुने भएको छ।
निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत दर्ता भएका उम्मेदवारविरुद्ध परेका उजुरीको छानबिन सकेपछि अन्तिम नामावली प्रकाशन गर्न लागेको हो।
आयोगका अनुसार हिजो उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने कार्यतालिका रहेको थियो। भक्तपुर, सुनसरी, रौतहट र कैलाली निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पाँच जनाविरुद्ध उजुरी परेको आयोगले जनाएको छ।
ती उजुरीमाथि आवश्यक जाँचबुझ गरी आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। निर्वाचन कार्यतालिका अनुसार माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
निर्वाचन आयोगमा प्राप्त पछिल्लो विवरणअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि कुल ३४८६ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये ३०८९ पुरुष, ३९६ महिला र एक जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन् ।











