ग्लोबल छनोटमा नेपाल आज दबाबमा, नेदरल्यान्ड्ससँग दोस्रो परीक्षा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा सहभागी नेपाली महिला क्रिकेट टोली आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दै छ।
समूह ‘बी’ अन्तर्गतको खेल विहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। पहिलो खेलमै थाइल्यान्डसँग पराजित भएपछि नेपाल दबाबमा आएको छ।
प्रतियोगितामा राम्रो लयमा देखिएको नेदरल्यान्ड्स भने जिम्बाबे र स्कटल्यान्डलाई हराउँदै दुई खेलमा अपराजित छ। पछिल्ला प्रदर्शन हेर्दा नेदरल्यान्ड्स आत्मविश्वासी देखिन्छ भने नेपालका लागि गल्ती गर्न ठाउँ लगभग सकिएको अवस्था छ।
महिला टी–२०आई वरियतामा नेदरल्यान्ड्स १४औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा रहेको छ। दुई टोलीबीच अहिलेसम्म भएका तीनवटै टी–२०आई खेलमा नेपाल पराजित भएको तथ्यले आजको चुनौती झन् कठोर बनाएको छ।
समूह चरण पार गर्न नेपालले अब बाँकी तीन खेलमध्ये कम्तीमा दुई खेल जित्नैपर्ने गणित छ। आजको खेल हारेमा नेपालको सम्भावना लगभग समाप्त हुनेछ। उता नेदरल्यान्ड्स भने आज जित हात पारे अघिल्लो चरणमा प्रवेश गर्नेछ।
नेपाली टोलीमा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी रहेका छन्।












