डाभोसमा ट्रम्पको आक्रामक सन्देशः युरोप असफल बाटोमा, नेटोमाथि विश्वास छैन

User Image Prime TV News एक महिना अगाडि
Image of डाभोसमा ट्रम्पको आक्रामक सन्देशः युरोप असफल बाटोमा, नेटोमाथि विश्वास छैन

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप गलत नीतिका कारण खतरनाक दिशातर्फ गइरहेको कडा आरोप लगाएका छन्।

स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले अनियन्त्रित बसाइँसराइ र विदेशी आयातले युरोपको सामाजिक र सांस्कृतिक संरचना तहसनहस भएको दाबी गरे।

ट्रम्पका अनुसार युरोपका धेरै क्षेत्र अब पहिचान गुमाइसकेका छन्। 'युरोपका केही ठाउँ त अब चिन्नै नसकिने भएका छन्,' भन्दै उनले युरोपेली नेतृत्वको स्पष्ट असफलता औंल्याए।

उनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रति पनि खुला अविश्वास व्यक्त गरे। अमेरिकाले आवश्यक पर्दा नेटोबाट सैन्य सहयोग पाउने कुरामा आफू ढुक्क नरहेको उनको भनाइ थियो। ट्रम्पले अमेरिका धेरै खर्च, बलिदान र प्रतिबद्धता जनाए पनि त्यसको बदला सहयोग नपाउने अवस्था रहेको बताए।

यो अभिव्यक्ति नेटोको सामूहिक रक्षा सिद्धान्तसँग प्रत्यक्ष रूपमा टकरिने खालको छ। नेटोको धारा ५ अनुसार एक सदस्य देशमाथि आक्रमण भए सबै सदस्य देशमाथि आक्रमण भएको मानिन्छ। इतिहासमा यो प्रावधान सन् २००१ को सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणपछि अमेरिकाका पक्षमा मात्र प्रयोग भएको थियो।

ग्रीनल्यान्डको विषयमा ट्रम्पले बल प्रयोग नगर्ने स्पष्ट गरे। तर उनले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक रहेको दाबी दोहोर्‍याए। उनले उक्त भूभाग सुरक्षित र विकसित गर्न अमेरिकाबाहेक अरू सक्षम नरहेको भन्दै वार्ताको प्रस्ताव अघि सारे। यद्यपि डेनमार्क र ग्रीनल्यान्डका नेताहरूले यस प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेका छन्।

आफ्नो मन्तव्यको सुरुवातमा ट्रम्पले अमेरिकी अर्थतन्त्रको खुलेर प्रशंसा गरे। उनले अमेरिका विश्व अर्थतन्त्रको मुख्य इन्जिन भएको दाबी गर्दै अमेरिकाको प्रगति पछ्याउन विश्व बाध्य हुने बताए।

तर डाभोसको सम्बोधन क्रममा ट्रम्प ग्रीनल्यान्ड र आइसल्यान्डबीच झुक्किएको घटनाले पनि चर्चा पायो। उनले ग्रीनल्यान्डको सन्दर्भमा पटक–पटक आइसल्यान्डको नाम लिएपछि आलोचना सुरु भएको छ। आइसल्यान्ड स्वतन्त्र राष्ट्र हो भने ग्रीनल्यान्ड डेनमार्कअन्तर्गतको स्वायत्त क्षेत्र हो।