अन्तिम ओभरमा चुक्दा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

User Image Prime TV News एक महिना अगाडि
Image of अन्तिम ओभरमा चुक्दा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाडौ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम ओभरसम्म संघर्ष गरे पनि २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रनमै सीमित रह्यो र २ रनले हार व्यहोर्नुपर्‍यो।

जितका लागि अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा कप्तान रुबिना क्षेत्री र सीता राना मगरले प्रयास गरे पनि १० रन मात्र जोड्न सके। दबाबपूर्ण अवस्थामा रुबिनाले अविजित ३७ रन बनाउँदा सीता राना मगरले अविजित २७ रनको योगदान दिइन्। बिन्दु रावलले १८ रन जोडिन्।

यसअघि २४ बलमा ४८ रन आवश्यक परेको अवस्थामा रुबिना र सीताले संयमित ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए। तर नेदरल्यान्ड्सका बलरहरूको कसीलो बलिङले नेपाल लक्ष्यमा पुग्न सकेन।

नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्। सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १–१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो। कप्तान बाबेट डे लिडेले सर्वाधिक ४९ रनको इनिङ खेल्दा स्टेर कालिसले ३० रन जोडिन्। रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहे।

नेपालका लागि बलिङमा रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए। यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भइसकेको नेपालका लागि यो हार चुनौतीपूर्ण बनेको छ। उता, नेदरल्यान्ड्स भने आजको जितसँगै सुपर सिक्स चरणमा प्रवेश गरेको छ।