पूर्वी नेपालमा रास्वपाको चुनावी अभियान, बालेन शाह इलाममा सक्रिय (फोटो फिचर)
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले पूर्वी नेपालमा चुनावी गतिविधि तीव्र पारेका छन्। सोही क्रममा उनी इलाम पुगेर पार्टीका उम्मेदवारको पक्षमा घरदैलो तथा भेटघाट कार्यक्रममा सहभागी भएका छन्।
इलाममा भएको घरदैलो अभियानमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर–२ का उम्मेदवार गोकुलबहादुर राई बालेनसँगै देखिएका थिए। कार्यक्रममा बालेनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै रास्वपालाई समर्थन गर्न आग्रह गरेका थिए।
झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बालेन शाहले बिहीबार बिहान इलाममा पार्टीका उम्मेदवारका लागि मत मागेका हुन्। उनले देशमा नयाँ राजनीतिक संस्कार र जवाफदेही नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रास्वपालाई विकल्पका रूपमा प्रस्तुत गरे।
यसअघि मंगलबार बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने गरी प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका थिए। मनोनयनपछिको दिन बुधबार उनले झापाको दमकस्थित पार्टी सम्पर्क कार्यालयमा कार्यकर्ता तथा समर्थकसँग छलफल गरेका थिए।
रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन शाहले झापा, मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा पनि पार्टीका उम्मेदवारसँग भेटघाट तथा प्रचार अभियान सञ्चालन गरिरहेका छन्। झापा–५ मा उम्मेदवार भए पनि पार्टीले उनलाई अन्य जिल्लामा समेत प्रचारप्रसारमा खटाउने रणनीति बनाएको जनाएको छ ।












