ट्यारिफको धम्की फिर्ता लिँदै ट्रम्प, ग्रीनल्यान्ड चाहिने अडान भने कायमै

User Image Prime TV News एक महिना अगाडि
Image of ट्यारिफको धम्की फिर्ता लिँदै ट्रम्प, ग्रीनल्यान्ड चाहिने अडान भने कायमै

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डका विषयमा युरोपेली देशहरूमाथि लगाउने भनिएको ट्यारिफको धम्की फिर्ता लिएका छन्। उनले डेनमार्कसहित कुनै पनि युरोपेली देशमाथि यस विषयमा आर्थिक दबाब नदिने स्पष्ट पारेका छन्।

यसअघि ट्रम्पले ग्रीनल्यान्डसम्बन्धी अमेरिकी माग अस्वीकार भए युरोपमाथि ट्यारिफ लगाउने संकेत गरेका थिए। तर बुधबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो अडान परिमार्जन गर्दै यस्तो कदम नचाल्ने जानकारी दिएका हुन्।

स्वीट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै ट्रम्पले ग्रीनल्यान्ड हासिल गर्न सैन्य शक्ति प्रयोग नगर्ने बताएका छन्। यद्यपि, उनले अमेरिकाको दीर्घकालीन लक्ष्य ग्रीनल्यान्ड आफ्नो नियन्त्रणमा ल्याउनु नै रहेको दोहोर्‍याए। “म ग्रीनल्यान्ड पूर्ण अधिकार र स्वामित्वका साथ चाहन्छु,” ट्रम्पले भने, “तर त्यसका लागि बल प्रयोग गरिने छैन।”

सम्बोधनका क्रममा ट्रम्पले युरोपेली देश र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)माथि पनि कडा टिप्पणी गरे। दोस्रो विश्वयुद्धदेखि अहिलेसम्म अमेरिकाले युरोपलाई सुरक्षा दिएको दाबी गर्दै उनले ग्रीनल्यान्डको माग त्यसको तुलनामा सामान्य विषय भएको बताए।

ग्रीनल्यान्डलाई उनले भौगोलिक रूपमा कठोर र चिसो क्षेत्र भने पनि अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरे। भविष्यमा आर्कटिक क्षेत्र रणनीतिक रूपमा झनै संवेदनशील बन्ने भएकाले ग्रीनल्यान्डमा अमेरिकी प्रभाव आवश्यक पर्ने उनको धारणा छ।

ट्रम्पले चाहेमा बलको प्रयोगबाट ग्रीनल्यान्ड हासिल गर्न सक्ने दाबी पनि गरे। “यदि मैले अत्यधिक शक्ति प्रयोग गरेँ भने हामीलाई कसैले रोक्न सक्दैन,” उनले भने, “तर म त्यसो गर्ने छैन।” उनले अमेरिकाको विस्तारवादी नीतिमा नेटोले अवरोध नगर्नुपर्ने चेतावनीसमेत दिएका छन्।