नेपाली कांग्रेसको नयाँ कार्यसमिति शुक्रबार केन्द्रीय कार्यालय सानेपा पुग्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएको छ। पार्टी महामन्त्री प्रदीप पौडेलले भने, “भोलि दिउँसो १ बजे सानेपा जाँदैछौँ।”
पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो। तर सभापति निर्वाचित भए पनि कार्यसमितिको पहिलो र दोस्रो बैठक होटलमै बसेको थियो। त्यस्तै, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै भएको थियो।
पार्टी प्रवक्ता देवराज चालिसेले बताए अनुसार, भोलिको बैठक केन्द्रीय कार्यालयमै हुनेछ र काठमाडौंमा उपलब्ध सदस्यहरू मात्र सहभागी हुनेछन्। पार्टी स्रोतका अनुसार, बैठकमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवारको रुपमा घोषणा गर्ने तयारी छ।
अन्य दलहरूले पनि फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना प्रधानमन्त्री उम्मेदवार घोषणा गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई, राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ।
विशेष महाधिवेशनपछि देउवा समूहका नेताहरूले कार्यसमितिलाई आधिकारिकता नदिन सर्वोच्चमा रिट दायर गरेका थिए। तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकृत गरेको थियो। निर्वाचित कार्यसमितिको बैठकअघि देउवा समूहका केही नेताहरू केन्द्रीय कार्यालयमा प्रवेश नदिने भन्दै त्यहाँ बसेका थिए। अहिले उनीहरूले कार्यालय छोडिसकेका छन्।












