ओलीको मतदातालाई आग्रह : चिनिएका र काम गरेका उम्मेदवारलाई मात्रै मत दिनुस्

User Image Prime TV News एक महिना अगाडि
Image of ओलीको मतदातालाई आग्रह : चिनिएका र काम गरेका उम्मेदवारलाई मात्रै मत दिनुस्

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदातालाई धितो जमानी नभएका उम्मेदवारलाई मत दिएर आफ्नो भोट खेर नफाल्न आग्रह गरेका छन्।

बिहीबार झापामा आयोजित कार्यक्रममा उनले स्थानीय र काम गरेको उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिएका हुन्। ओलीले बैंकको उदाहरण दिँदै भने, “बैंकले पनि धितो–जमानी बिना नोट छाप्दैन, त्यसैले भोट हाल्दा पनि धितो–जमानी नभएका मान्छेलाई मत दिएर आफ्नो भोट खेर नफाल्नुस्।”

२०६४ सालको निर्वाचनमा नयाँ र नचिनेका उम्मेदवारलाई मत दिँदा विकासमा पछि परेको अनुभव सम्झाउँदै उनले मतदातालाई फेरि त्यस्तो गल्ती नदोहर्‍याउन आग्रह गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको महोत्तरीस्थित घरअगाडि बनाएको सडक र पुलको उदाहरण दिँदै प्रश्न गरे, “मैले उहाँको घरअगाडि बाटो र पुल बनाइदिएको छु, तर झापामा उहाँले के गर्नुभएको छ?”

सुकुम्बासी समुदायको सवालमा उनले भने, “सुकुम्बासी साथीहरू डराएका छन्, डोजर लगाएर उठिबास गराइन्छ कि भन्ने चिन्ता छ।” ओलीले हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवार होइन, स्थानीय उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिएका छन्। उनले स्पष्ट पारे, “हामी सांसद, मन्त्री वा प्रधानमन्त्री बन्नका लागि मात्र होइन, देशमा शान्ति, सुव्यवस्था, सुशासन र विकास ल्याउन संघर्ष गरिरहेका छौँ।”

सामाजिक सञ्जालमा फैलिएका भ्रममा नपर्न मतदातालाई उनले विशेष अनुरोध गरेका छन्।