रवि लामिछानेको रिहाइको मागमा आज उच्च अदालतमा सुनुवाई
Prime TV News एक बर्ष अगाडि 
काठमाडाै । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले दिएको रिहाइसम्बन्धी निवेदनमाथि आज उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ।
न्यायाधीश सागर विष्टको एकल इजलासमा यो मुद्दाको पेशी तय भएको हो। लामिछानेले भदौ ९ गते जिल्ला अदालत रुपन्देहीको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए।
यसअघि लामिछानेले आफूले तिर्नुपर्ने बिगो रकम दाखिला गरिसकेकाले रिहा गर्नुपर्ने माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए। तर न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते सो निवेदन अस्वीकार गर्दै थुनामै राख्न आदेश दिएको थियो। अदालतले ‘उनीमाथि कायम हुने बिगोको परिमाण अझै स्पष्ट नभएको’ भन्दै रिहा सम्भव नभएको ठहर गरेको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित चारजनाविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गर्दै अभियोग पत्र दायर गरिएको छ। लामिछानेले त्यसको चौथो भाग बराबर अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित रिहाको माग गरेका हुन्।
यसअघि जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उच्च र सर्वोच्च अदालतले थुनामै राख्नुपर्ने आदेश दिएको कारण उनी पुनः थुनामा परेका थिए। हाल रवि लामिछाने ललितपुरको नख्खु कारागारमा छन्।
जिल्ला अदालतले मुद्दाको प्रकृति विचार गर्दा छिटो छरितो रुपमा न्यायिक निरूपण गर्न उचित हुने उल्लेख गर्दै, कारबाही अगाडि बढाउन आदेश दिएको छ।







