कैलाली–१ बाट रेशम चौधरीको उम्मेदवारी खारेज

User Image Prime TV News एक महिना अगाडि
Image of कैलाली–१ बाट रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। निर्वाचन ऐन २०७४ अनुसार जन्मकैदको सजाय पाएका व्यक्ति उम्मेदवार हुन अयोग्य हुने हुँदा चौधरीविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

२०७२ असोजमा टिकापुर घटनामा आठ जना प्रहरी र एक नाबालकको हत्या गर्ने अभियोगमा चौधरीलाई तीनै तहको अदालतले जन्मकैदको फैसला सुनाएको थियो। सर्वोच्च अदालतले पनि २०८० जेठ २ मा उक्त फैसला सदर गरेको थियो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, दफा १३ (घ) अनुसार जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैद पाएका व्यक्ति उम्मेदवार हुन अयोग्य हुन्छन्। यसै आधारमा निर्वाचन आयोगले उजुरीको छानबिन गरिरहेको छ। आयोगले यसकैको आधारमा निर्णय सुनाएको हो ।

चौधरीले बिहीबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उजुरीबारे जवाफ दिएका थिए। तर ऐन र विगतको अभ्यासका आधारमा उम्मेदवारी खारेज हुने करिब पक्का रहेको आयोगका अधिकारीले बताएका छन्। २०७९ सालको चुनावमा बर्दिया–२ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी पनि आयोगले खारेज गरेको थियो। त्यसपछि उनी समर्थित उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका थिए।

चौधरीलाई २०८० जेठ १४ मा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय मिनाह गरे पनि यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको छ। कानूनी दृष्टिले यो अवस्थामा उम्मेदवारी दिन सक्ने अवस्था छैन। निर्वाचन आयोगले हालसम्म १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका तीन हजार चार सय ८७ मध्ये पाँचजना विरुद्ध उजुरी प्राप्त भएको जनाएको छ।

तीमध्ये अन्य उम्मेदवारहरूमा सुनसरी–२ बाट रास्वपाबाट उम्मेदवारी दिएका लाल विक्रम थापा, भक्तपुर–२ बाट रास्वपाबाट उम्मेदवारी दिएका राजीव खत्री, त्यहीबाट जनसेवा पार्टीका जानुका पाठक र रौतहट–१ बाट नेकपाका माधव नेपाल रहेका छन्।