वैशाखमा कांग्रेसको नियमित महाधिवेशन नहुने, २०८३ पौषभित्र गर्ने तयारी : महामन्त्री घिमिरे
Prime TV News एक महिना अगाडि 
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन आयोजना गर्न नसकिने स्पष्ट पारेका छन्। विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले फागुन २१ गते हुने निर्वाचन र त्यसपछि विकसित हुने राजनीतिक गतिविधिका कारण महाधिवेशन स्थगित गर्नुपर्ने अवस्था आएको बताएका हुन्।
महामन्त्री घिमिरेका अनुसार पार्टीले २०८३ सालको पौष मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारी अघि बढाउनेछ। विशेष महाधिवेशनपछि कांग्रेस एकताबद्ध रूपमा निर्वाचनमा होमिएको दाबी गर्दै उनले पार्टीले दूरगामी सोचसहित घोषणापत्र सार्वजनिक गर्ने बताए।
त्यस्तै, उनले आगामी संसदीय दलको बैठकले सर्वसम्मत रूपमा सभापति गगन थापालाई संसदीय दलको नेता चयन गर्ने र उनी भावी प्रधानमन्त्री बन्ने दाबीसमेत गरे। महामन्त्री घिमिरेले राष्ट्रियसभा निर्वाचनका लागि पहिल्यै गठबन्धन भइसकेकाले सो गठबन्धनले निरन्तरता पाउने जानकारी दिए।
तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पार्दै, निर्वाचन परिणामका आधारमा पछि गठबन्धन बन्न सक्ने सम्भावना खुला रहेको बताए।












