विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमिति आज सानेपा प्रवेश गर्दै

User Image Prime TV News एक महिना अगाडि
Image of विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमिति आज सानेपा प्रवेश गर्दै

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति आज औपचारिक रूपमा पद बहालीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपा जाने भएको छ।

सभापति थापा निकट नेता मनोजमणि आचार्यका अनुसार आज दिउँसो १ बजे सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सानेपा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। यससँगै लामो समयदेखि नेतृत्व विवादमा अल्झिएको कांग्रेसमा नयाँ कार्यसमिति पूर्ण रूपमा क्रियाशील हुने भएको छ।

गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति तथा गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्रीमा चयन भएका थिए।

यस्तै सहमहामन्त्रीमा डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव निर्वाचित भएका छन्। विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको थियो।

थापा–शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले अस्वीकार गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा उजुरी दायर गरेका थिए।

तर निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिइसकेको छ भने सर्वोच्च अदालतले पनि दुवै समूहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

अदालत र आयोग दुवैबाट बाटो बन्द भएपछि असन्तुष्ट समूहहरूको राजनीतिक र कानुनी दाबी कमजोर बनेको छ। आजको पद बहालीसँगै विशेष महाधिवेशनको वैधानिकतामाथि उठाइएका प्रश्न व्यवहारिक रूपमा समाप्त हुने छन् ।