कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गर्न लागेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले थापालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले मतदातासामु स्पष्ट नेतृत्व प्रस्तुत गर्ने रणनीति अपनाएको छ। निर्वाचनपछि होइन, निर्वाचनअघि नै प्रधानमन्त्री को हुने हो भन्ने जानकारी दिनु कांग्रेसको राजनीतिक निर्णय भएको उनले बताए।

विशेष महाधिवेशनबाट प्राप्त म्यान्डेट, सुशासन र विकासको एजेन्डा तथा युवा पुस्ताबाट उठेको परिवर्तनको मागलाई आत्मसात् गर्दै कांग्रेस स्पष्ट नेतृत्वसहित चुनावी मैदानमा उत्रिन लागेको प्रवक्ता चालिसेको भनाइ छ। उनका अनुसार यो निर्णयले पार्टीभित्र र बाहिर दुवै ठाउँमा स्पष्ट सन्देश जानेछ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

सोही महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर पद बहाली गर्ने कार्यक्रम रहेको छ। आजै केन्द्रीय कार्यसमिति बैठक बस्ने र निर्वाचन समितिबाट औपचारिक प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै अन्य दलहरूले पनि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई अघि सारेको छ।