डाभोस भेटपछि शान्ति प्रयास तीव्र, अमेरिका, युक्रेन र रुसबीच यूएईमा त्रिपक्षीय वार्ता हुने

User Image Prime TV News एक महिना अगाडि
Image of डाभोस भेटपछि शान्ति प्रयास तीव्र, अमेरिका, युक्रेन र रुसबीच यूएईमा त्रिपक्षीय वार्ता हुने

काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच स्विट्जरल्यान्डको डाभोसमा उच्चस्तरीय भेटवार्ता भएको छ।

ह्वाइट हाउसका अनुसार बिहीबार भएको यो छलफल करिब एक घण्टा चलेको थियो। भेटपछि राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै रुस र युक्रेन युद्ध अन्त्यको चाहना सबै पक्षमा रहेको संकेत गरे।

उनले छलफलका विवरण सार्वजनिक नगरे पनि युद्ध अन्त्यतर्फ कुनै न कुनै निष्कर्ष निस्कने अपेक्षा व्यक्त गरे। ट्रम्पसँगको भेटपछि विश्व आर्थिक मञ्चमा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले शान्ति प्रयास निर्णायक चरणमा पुगेको दाबी गरे।

उनले युद्ध अन्त्यका लागि तयार पारिएका कागजात 'लगभग अन्तिम अवस्थामा' पुगेको बताए। जेलेन्स्कीका अनुसार युक्रेन शान्तिका लागि इमानदार र दृढ ढंगले अघि बढिरहेको छ र अब रुसले आक्रामक नीति त्याग्नुपर्नेछ।

पछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले ट्रम्पसँगको भेटलाई 'राम्रो र अत्यन्तै महत्त्वपूर्ण' भन्दै अमेरिकी राष्ट्रपतिप्रति आभार व्यक्त गरे। उनले छिट्टै अमेरिका, युक्रेन र रुसका प्रतिनिधिमण्डलहरूबीच संयुक्त अरब इमिरेट्समा दुई दिनसम्म चल्ने त्रिपक्षीय बैठक हुने जानकारी पनि दिए।

यो बैठकलाई युद्ध अन्त्यका लागि ठोस सहमतिको सम्भावित आधारका रूपमा हेरिएको छ।