नेपाली बजारमा सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, तोलाको ३ लाख नाघ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबार सुनको मूल्य तोलाको तीन लाख रुपैयाँ नाघ्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ हजार २०० रुपैयाँले वृद्धि भई तीन लाख एक हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
एकैदिन भएको तीव्र मूल्यवृद्धिले बजारमा सुनको कारोबार प्रभावित हुने संकेत देखिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको आकर्षण र आर्थिक अनिश्चितताका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको व्यवसायीहरू बताउँछन् ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ३२० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा किनबेच भएको थियो ।












